दफा १८
विकास कार्यक्रम र बजेट
: (१) ठेकेदारले कुनै स्थललाई व्यापारिक रूपले विकास गर्न सकिने देखेमा मनासिव अवधिभित्र उत्पादन अनुमति माग गर्नु पर्नेछ र त्यस्तो स्थलबाट प्राप्त हुने पेट्रोलियमको शुद्धीकरण, ढुवानी र सञ्चयसँग सम्बन्धित सबै सुविधा र सेवाहरूको निर्माण, स्थापना र सञ्चालनको लागि विस्तृत विकास, कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ ।
(२) विकास कार्यक्रममा डिजाइन र इञ्जिनीयरिंग, आवश्यक पूर्वाधार सम्बन्धी लगानी, नेपाली नागरिकहरूको तालीम र रोजगारी, नेपाली वस्तु र सेवाहरूको प्रयोग वृद्धि गर्ने योजना, वातावरणको संरक्षण सम्बन्धी योजना र लगानी रकम एवं विवरण समावेश भएको हुनु पर्नेछ । त्यस्तो कार्यक्रममा उत्पादन अनुमति माग गरिएको उत्पादन क्षेत्रको वर्णन गरिएको हुनु पर्नेछ ।